प्रेश विज्ञप्ति: राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को उपलक्ष्यमा नेपाली राजदूतावासमा आज एक कार्यक्रमको आयोजना गरियो।

कार्यक्रमको शुरुमा राजदूतावास प्रांगणमा नेपालको राष्ट्रिय झण्डा फहराउनुका साथै सामूहिक रुपमा राष्ट्रिय गान गायन र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा वीरगति प्राप्त गर्नुहुने ज्ञात/अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो।

सो अवसरमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश पाकिस्तानका लागि नेपाली राजदूत श्री तापस अधिकारीले पढेर सुनाउनु भएको थियो।

साथै, राजदूत अधिकारीले अमर सहिदहरुको त्याग र बलिदानबाट नेपालमा प्रजातन्त्र स्थापना भएको र उक्त महत्वपूर्ण ऐतिहासिक दिनको जगमा नेपालमा राजनितीक, सामाजिक, आर्थिक परिवर्तनका साथसाथै नागरिक हक, अधिकार र चेतनाको आरम्भ भएको दिनका रुपमा राष्ट्रिय प्रजातन्त्र दिवसको महत्व उच्च रहेको बताउनुभयो। उक्त कार्यक्रममा स्थानीय नेपाली समुदायको तर्फबाट श्री लतिका मास्के प्रधान र श्री विश्वास राणाले प्रजातन्त्र दिवसको महत्वको बारेमा आ-आफ्नो भनाई राख्नुभएको थियो।

सो कार्यक्रममा इस्लामावादमा रहनुभएका नेपाल सरकारका कर्मचारी एवं नेपाली सैनिक पदाधिकारीहरू, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपालीहरु, नेपाली विद्यार्थीहरु र राजदूतावास परिवारको उपस्थिति रहेको थियो।

सो दिवसको सन्दर्भमा हिजो साँझ राजदूतावास परिसरमा दीपावली गरिएको र आज र भोली साँझमा समेत दीपावली गर्ने कार्यक्रम रहेको छ।

___________
इस्लामाबाद
२०८० फागुन ०८