वैदेशिक रोजगारमा टर्की आउनेहरुका लागि सूचना


वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि अत्यन्त जरुरी सूचना


वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई नेपाली कामदारहरुलाई वैदेशिक रोजगारमा पठाउने सन्दर्भमा श्रम स्वीकृतिका लागि पेश गरिने कागजात, प्रमाणहरु सत्य र तथ्यमा आधारित नभएको अवस्थामा वैदेशिक रोजगारमा जाने कामदारहरु करार बमोजिम काम, सुविधा नपाई मर्कामा पर्ने, विदेशी भूमिमा पीडित बन्नु पर्ने, स्वदेश फर्कन कठिनाई हुने, कतिपय अवस्थामा जेल सजाय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनु पर्ने हुन सक्छ। यसर्थ वैदेशिक रोजगारमा जाने व्यक्तिहरुले निम्न विषयहरुमा विशेष ध्यान पुर्‍यार्इ यकिन गरि श्रम स्वीकृति लिएर वैधानिक रुपमा मात्र वैदेशिक रोजगारमा जान सम्बन्धित सबै सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

१. वैदेशिक रोजगारमा जानका लागि कानुनी प्रकृया पुर्‍याई व्यक्तिगत र संस्थागत गरि २ किसिमले वैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचलस्थित कार्यालयबाट श्रम स्वीकृति प्राप्‍त गर्न सकिन्छ। संस्थागत रुपमा वैदेशिक रोजगारमा कामदार पठाउने कार्य वैदेशिक रोजगार व्यवसाय संचालन गर्न इजाजतपत्र लिई नियमित रुपमा नवीकरण भएका इजाजतपत्रवाला संस्थाहरु (मेनपावर कम्पनी) ले गर्दछन्। तपाईले सम्पर्क गरेको संस्था वैदेशिक रोजगार विभागबाट इजाजत लिएको मेनपावर कम्पनी हो कि होइन ? उक्त मेनपावरको काम कारवाही रोक्का भएको छ, छैन ? तथा खारेजीमा परेको छ, छैन ? बुझ्नु होस्। व्यक्तिगत प्रयासबाट भिषा प्राप्‍त गरी वैदेशिक रोजगारमा जाने व्यक्तिले नेपाली दूतावासबाट प्रमाणित सक्कल कागजात सहित स्वयं उपस्थित भई श्रम स्वीकृति लिन सक्नु हुनेछ।

२. वैदेशिक रोजगारमा जाँदा कुन काममा जाने, सोको लागि कति खर्च लाग्छ, काम गरेवापत तलब, खाना र बस्ने व्यवस्था, काम गर्नु पर्ने घण्टा, ओभरटाइम काम भत्ता, करार अवधि आदि बारेमा राम्ररी जानकारी लिनुहोस्। देश, कम्पनी, काम गर्ने पद र पेसा, तलबभत्ता, अन्य सुविधा र सेवाशर्तहरुबारे चित्त बुझेमा मात्र सम्झौतापत्रमा सही गर्नुहोस्। सो को १ प्रति आफूसँग राख्‍नुहोला। विमानस्थलमा फरक फरक सम्झौता गरेका कागज साथमा राखेको पाइएकोले एउटै कम्पनीसँग मात्र सम्झौता गर्नुहोस्, दोहोरो सम्झौतापत्र नगर्नुहोस् ठगिनु हुन्छ।

३. वैदेशिक रोजगारमा जाँदा कुन संस्थाबाट वा को मार्फत जाने हो त्यसको बारेमा यथेष्ठ जानकारी राख्‍नुहोस्। दलाल मार्फत् वा त्यस्तै व्यक्तिबाट जाने प्रयत्न नगर्नुहोस्, ठगिने र विदेशमा अलपत्र पर्ने प्रबल सम्भावना रहन्छ। कन्सल्टेन्सी फर्म, ट्राभल एजेन्सी, मनी ट्रान्सफर/चेन्जर, दलाल, एजेन्ट, कुनै पनि संस्थालाई वैदेशिक रोजगारमा पठाउने अधिकार प्राप्‍त छैन। यी कसैलाई पनि रकम नदिनुहोस्, ठगिने वढी सम्भावना हुन्छ। टर्की मुलुकका लागि वैदेशिक रोजगारीमा जाने सम्बन्धमा तपाईंलाई प्राप्त जानकारी वा माग वा तलवसुविधा वा मागको आधिकारिकारिकताको सम्बन्धमा बुझ्नुपरेमा वैदेशिक रोजगार विभाग वा नेपाली राजदूतावास, इस्लामावादमा सम्पर्क गर्नुहोस्। तपाईले नेपाली राजदूतावास, इस्लामावादको फोन नम्वरहरुः +92512610317 र +92512610318 मा सम्पर्क गर्न, दूतावासको इमेलः eonislamabad@mofa.gov.np र eonislamabad@gmail.com मा लेखि पठाउन वा दूतावासको facebook page : Embassy of Nepal, Islamabad मार्फत message पठाउन सक्नु हुनेछ।

४. आफ्नो नाममा भिषा प्राप्‍त भई वैदेशिक रोजगारमा जाने निश्चित भएपछि मेनपावर कम्पनीको बैङ्क खातामा वा प्रधान कार्यालयमा मात्र रकम बुझाउनु होला। साथै, बुझाएको रकमको भर्पाई अनिवार्य रुपमा लिनुहोला। पूर्व स्वीकृति अनुसारको विज्ञापनमा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनुहोला।

५. इजाजत प्राप्‍त मेनपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कुन देशमा, कुन कामका लागि, कति अवधि भित्र पठाउने र कति लागतमा पठाउने हो? यकिन गरी भर्पाई लिएर मात्र सक्कल पासपोर्ट बुझाउनु होला।

६. जान चाहेको देशको बारेमा राम्रो जानकारी राख्‍नुहोस्। त्यो देशको भाषा, संस्कृति, रहनसहन, चालचलन, रीतिरिवाज र कानुनको बारेमा आवश्यक जानकारी राख्‍नुहोस्।

७. आफू काम गर्न जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना, अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरुको फोन र फ्याक्स नं. डायरीमा टिप्नुहोस्। अथवा जानेको मानिससँग लेख्‍न लगाउनुहोस्।

८. सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराई तोकिएको होलोग्राम भएको स्वास्थ्य परीक्षण प्रमाण पत्र लिनुहोस्।

९. सरकारले तोकेको बिमा कम्पनीमा गई करार अवधि अनुसार कम्तीमा रु. ५ लाखको जीवन बिमा गराउनुहोस्।

१०. कल्याणकारी कोषमा रु. १,५००।- बुझाई रसिद लिनुहोस्। सो रकम नतिरी श्रम स्वीकृति पाइदैन।

११. विदेश जानु अघि स्वीकृत अभिमुखीकरण संस्थामा गई अनिवार्य रुपमा २ दिनको अभिमुखीकरण तालिम तथा जाने मुलुकको श्रम कानुन सम्बन्धी जानकारी लिनुहोस् । सो अभिमुखीकरण तालिमबाट आफू जाने देशको भौगोलिक अवस्था, हावापानी, ट्राफिक नियम, श्रम सम्वन्धी सामान्य कानुनी प्रावधान लगायतका विषयमा पर्याप्त जानकारी प्राप्‍त हुनेछ।

१२. वैदेशिक रोजगारमा जान लागेका नेपाली नागरिकहरुले विदेश प्रस्थान गर्नु अगाडि आफुले प्राप्‍त गरेका रोजगार सम्बद्ध कागजातहरुको प्रतिलिपिहरु एक/एक थान आफ्नो घरमा सुरक्षित साथ राख्‍ने र आफ्नो साथमा लिएर जानुपर्ने कागजातहरु रुजु गरि लिई जाने ताकी अध्यागमनको प्रस्थान कक्षमा वा विदेशमा पुगेर समस्या झेल्नु नपरोस्।

१३. कामको लागि विदेश जाँदा नेपालकै एयरपोर्ट प्रयोग गर्नुहोला, अन्यथा ठगिने सम्भावना हुन्छ। श्रम स्वीकृतिको निस्सा प्राप्‍त नहुदै हवाई टिकट खरिद नगर्नु होला। अन्य देशको विभिन्‍न बाटो प्रयोग गरी रोजगारीका लागि विदेश नजानुहोस्। यदि कसैले तपाईलाई ललाईफकाई लैजादै छ भने स्थानीय प्रहरीलाई खबर गर्नुहोस्।

१४. लुकीछिपी जाँदा कानुनी कारबाही हुने, अलपत्र पर्ने, दुर्घटना हुने, सम्झौता बमोजिम काम नपाउने, उद्धार गर्न कठिन हुने र कल्याणकारी कोष, बिमा कम्पनीबाट प्राप्‍त हुने सेवा सुविधा प्राप्‍त नहुने हुँदा विशेष होस पुर्‍याउनुहोस्।

१५. वैदेशिक रोजगारमा हुने ठगी र अन्य सूचना लिन र दिन टोल फ्रि नं. १६६००१०९९९९ को व्यवस्था गरिएकोले कुनै गुनासो वा जानकारी भए फोन गर्नुहोस्। साथै वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको टोल फ्रि नं. १६६००१५०००५ मा पनि आफ्नो समस्या राख्‍न सकिन्छ।

१६. पहिलेको श्रम स्वीकृति म्याद नाघेको वा नयाँ देश वा कम्पनीमा वैदेशिक रोजगारमा पुन: जाँदा अनिवार्य रुपले पुन: श्रम स्वीकृति (नवीकरण) लिनुहोस्। करार अवधि सकिएपछि पनि स्वीकृति वेगर, गैरकानुनी तरिकाबाट भिषाको म्याद भन्दा बढी समय नबस्नुहोस् । अन्यथा सम्बन्धित देशको कानुन अनुसार कारबाही हुन सक्छ। आफ्नो राहदानीको म्याद समयमा नै नवीकरण गर्नुहोस्।

१७. कुनै पनि व्यक्तिले वैदेशिक रोजगारमा पठाईदिन्छु भनी रकम मागेमा तुरुन्त नजिकको स्थानीय प्रशासन, प्रहरी, वैदेशिक रोजगार विभागमा सूचना दिनुहोस्।

१८. वैदेशिक रोजगारका लागि विभिन्‍न पत्रपत्रिकामा प्रकाशित हुने सूचनाको आधिकारिकता बुझ्नु परेमा वैदेशिक रोजगार विभाग वा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा सम्पर्क गर्नुहोस् वा पत्रपत्रिकामा प्रकाशित विज्ञापनमा उल्लेखित Lot Number टाइप गरि ३४००१ मा SMS गरि आधिकारिकता बुझ्नुहोस। (उदाहरणको लागि Lt No: 202020 छ भने LT202020 टाईप गरि ३४००१ मा SMS गर्नुहोस्)

१९. वैदेशिक रोजगारमा जाँदा HIV/AIDS तथा यौनजन्य सरुवा रोगको बारेमा सचेत हुनुहोला।

२०. वैदेशिक रोजगारमा विदेशमा रहँदा अनावश्यक रुपमा हड्ताल र अशान्ति नगर्नुहोस्।

२१. मेनपावर कम्पनीको नाम ठेगाना परिवर्तन भएको कारणले सम्पर्क गर्न नसकिएमा वैदेशिक रोजगार विभागमा सम्पर्क गर्नुहोला।


वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुले थाहा पाउनुपर्ने थप कुराहरु :

१. उमेर र विवरणः
१८ वर्ष पूरा भएको अवस्थामा मात्र वैदेशिक रोजगारको प्रक्रिया अवलम्बन गर्नुपर्छ। रोजगारमा जानेक्रममा झुटा विवरण वा कागजात पेश गर्नुहुँदैन।

२. संस्थागत पहलः
वैदेशिक रोजगारको निमित्त अनुमति प्राप्‍त गरेका एजेन्सीहरुसँग मात्र वैदेशिक रोजगारमा जाने सम्बन्धी कारोबार गर्नुपर्छ। संस्थासँग व्यक्तिगत तवरले जाने गरी काम कारबाही गर्नु हुँदैन। व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जान चाहनेले वैदेशिक रोजगार विभागको स्वीकृति प्राप्‍त गर्नुपर्छ।

३. आवश्यक प्रमाणहरु सुरक्षित राख्‍नुपर्नेः
वैदेशिक रोजगारको निमित्त जाने क्रममा वैदेशिक रोजगार एजेन्सीलाई रकम बुझाएपछि रसिद लिई सुरक्षित राख्नुपर्छ।

वैदेशिक रोजगारको निमित्त एकमुष्ट वा किस्तामा रकम बुझाएको भएमा कुन किस्ता बापत कति रकम बुझाएको हो सो समेतको निस्सा लिनुपर्छ । बुझाएको रकम र प्राप्‍त रसिदमा रकम फरक परे, नपरेको यकिन गरी गरी वास्तविक तिरेको रकम जनाएको रसिद लिनुपर्छ । रसिदमा सम्बन्धित एजेन्सीको छाप भए, नभएको र बुझिलिनेको दस्तखत भए, नभएको जाँची लिनुपर्छ।

राहदानी, भिसा, श्रम स्वीकृति, करारपत्र, तालिमहरुको प्रमाणपत्र, रकम बुझाएको रसिदहरु, बिमा, स्वास्थ्य परीक्षण आदिको कागजात आफूसँग सुरक्षित राखी त्यसको फोटोकपी घर परिवारका व्यक्तिहरु वा भरपर्दो अभिभावकलाई छोड्नुपर्छ।

४. तालिम तथा सुरक्षाः
वैदेशिक रोजगारमा जाने कामको लागि कुनै सीपमूलक तालिम आवश्यक भए त्यस्तो तालिम लिएको हुनुपर्ने र मान्यता प्राप्‍त संस्थाबाट अभिमुखीकरण तालिम हासिल गर्नुपर्छ।

वैदेशिक रोजगारमा जाने क्रममा गर्नुपर्ने बिमा तथा कल्याणकारी कोषमा अनिवार्य रुपमा रकम जम्मा गर्नुपर्छ।

एजेन्सी वा कोही कसैबाट वैदेशिक रोजगार सम्बन्धी विषयमा गलत वा ठगी गर्न लागेको शंका लागेमा वा त्यसो भए गरेमा वैदेशिक रोजगार विभाग वा नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरीमा तुरुन्त खबर गर्नुपर्छ।

वैदेशिक रोजगारमा जाने व्यक्तिले अनुमति लिएको अवस्थामा बाहेक अन्य मुलुकको मार्ग प्रयोग गरी वैदेशिक रोजगारमा जान हुँदैन। वैदेशिक रोजगारको निमित्त विदेश प्रस्थान गर्नु पूर्व वैदेशिक रोजगार विभागबाट राहदानीमा श्रम स्वीकृतिको स्टिकर लगाएको हुनुपर्छ।

५. पूर्व तयारीको अवलम्बनः
वैदेशिक रोजगारमा जाने नेपालीले अनुमतिको अवधि पश्चात् नियमानुसार म्याद थप नगरी अवैधानिक रुपमा विदेशमा बस्न वा काम गर्न हुँदैन। वैदेशिक रोजगारको क्रममा भएको सम्झौता अनुसारको अवधिभित्र करार भंग नभएसम्म उक्त कार्य छाडि अन्यत्र काम गर्न वा बिना स्वीकृति काम छाडि अन्यत्र जान हुँदैन।

६. क्षतिपूर्तिः
कुनै कारणले विदेशबाट असमयमा फर्कनु परेमा वैदेशिक रोजगार विभाग र पठाउने एजेन्सीमा फिर्ता आएको १५ दिन भित्रमा जानकारी गराउनु पर्छ।

७. विदेशमा सम्पर्क र समन्वय
नियम अनुसार वैदेशिक रोजगारमा गएपछि उक्त मुलुकमा रहेको नेपाली दूतावास वा नियोग वा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तोकेको सम्बद्ध संस्थामा सम्पर्क कायम गरी आफू आएको जानकारी गराउनु पर्नेछ। वैदेशिक रोजगारको क्रममा समस्या आएको अवस्थामा उक्त निकायमा जानकारी गराउनु पर्नेछ।

८. वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा जानु हुँदैन।

९. वैदेशिक रोजगारमा जानुपूर्व अभिमुखीकरण तालिम लिनुपर्छ र जान लागेको देश, आफूले गर्ने काम र पाउने पारिश्रमिकबारे राम्ररी जानकारी लिई जानुपर्छ।

१०. स्वास्थ्य परीक्षण, जीवन बिमा, दुर्घटना बिमा विदेशमा काम गर्न जानु पूर्व अनिवार्य रुपमा गर्नुपर्छ।

***