प्रेश विज्ञप्ति-२५६८औं बुद्ध जयन्ती मनाएको।

२५६८औं बुद्ध जयन्तीका अवसरमा आज इस्लामाबादमा नेपाली एवं पाकिस्तानी नागरिकहरुको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरियो।

उक्त कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सहभागीहरुलाई स्वागत गर्नुहुँदै बौद्ध दर्शनका प्रमुख सिद्धान्तहरु जस्तै अहिंसा, दया, करूणा, समभाव एवं सम्यक ध्यान जस्ता शास्वत एवं जीवनउपयोगी मूल्य, मान्यताहरू समसामयिक रहेको विचार व्यक्त गर्नुभयो। बौद्ध दर्शनमा लुम्बिनी र तक्षशीलाको ठूलो महत्व रहेको र नेपाल सरकारले लुम्बिनीलाई विश्वशान्तिको केन्द्रका रुपमा विकास गर्न गरेका प्रयासहरुको चर्चा गर्दै पाकिस्तान सरकारले गान्धारा सभ्यताको संरक्षण र प्रबर्द्धन गर्न गरेको प्रयासको प्रशंसा गर्नुभयो। साथै, बौद्ध परम्परामा नेपाल प्रमुख तीर्थ एवं आध्यात्मिक गन्तव्यका रूपमा रहेकोले पाकिस्तान लगायत विश्वभरबाट अध्यामिक साधकहरू नेपाल भ्रमणमा जाने गरेको बताउनु भयो।

उक्त कार्यक्रम पूर्व विज्ञान तथा प्रविधि मन्त्री एवं युवक बौद्ध मण्डल नेपालका सल्लाहकार डा. केशवमान शाक्य, बौद्ध अध्येता एवं नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का केन्द्रिय सदस्य श्री ओम चरण अमात्य, बौद्ध विद्धान एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक भिक्षु पण्डित संकिच श्रामणेर र गोरखापत्रका प्रमुख संवाददाता एवं नेपाल सम्बन्धी अध्येता श्री केदार प्रसाद भट्टराई समेतले सम्बोधन गर्नुभएको थियो।

नेपालबाट आउनुभएका विद्धानहरुले हाल पाकिस्तानमा रहेका प्राचिन स्थलहरु खासगरी स्वात उपत्यका (गुरू पद्मसम्भव जन्मनुभएको उदियाना), पेशावर (पुरुषपुर), चरसद्दा (पुस्कलावती) एवं टक्सिला (तक्षशीला) को बौद्ध दर्शनको विकासमा ठूलो महत्व रहेको सम्बन्धमा प्रकाश पार्नुभएको थियो। उक्त अवसरमा उहाँहरुले बौद्ध धर्म र दर्शनका विभिन्न पक्षहरू, यसको महत्व र अपरिहार्यता दर्शाउंदै पाकिस्तानमा रहेको गान्धारा सभ्यता सम्पूर्ण बौद्ध जगतको सेतुको रुपमा रहेकोले यसको जगेर्ना गर्नु एवं बौद्ध परम्पराका उच्च मूल्य एवं मान्यताहरूको प्रचारप्रसार गरी विश्व बन्धुत्व र भातृत्वको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको थियो।उहाँहरुले कार्यक्रमको अन्त्यमा सहभागीहरूबाट सोधिएका जिज्ञासाहरूको उत्तर समेत दिनुभएको थियो।

___________
नेपाली राजदूतावास
इस्लामाबाद
२०८१ जेठ १४