किर्गीस्तानमा नेपालीहरु अलपत्र परेको सम्बन्धमा नेपाली राजदूतावासको अनुरोध

किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली नागरिकहरुलाई ठगिएको र त्यहाँ पुगेका नेपालीहरु हाल अलपत्र परेको जानकारी यस राजदूतावासमा प्राप्त भएको छ। यसरी ठगीमा परेका मध्ये केहीलाई किर्गीस्तानको बाटो प्रयोग गरी अन्य मुलुकमा पठाउने आश्वासन दिइएको समेत बुझिएको छ।

अलपत्र परेका नेपालीहरू मध्ये केहीलाई उद्धार गरी हाल नेपाल फर्काइसकिएको छ भने केही नेपालीहरु हाल फर्कने क्रममा रहेका छन्। तर त्यहाँ नेपाली पुग्ने क्रम रोकिएको देखिएको छैन।

नेपालीहरुलाई राम्रो रोजगारीको प्रलोभन देखाई ठगी गर्ने र अलपत्र पार्ने काममा संलग्नहरूमा केही नेपाली र केही विदेशी समेत रहेको बुझिनआएको छ। यसरी गलत प्रलोभनमा नेपाली नागरिकलाई विदेश पुर्र्याएर अलपत्र पार्ने जस्तो गैरकानूनी काममा संलग्न हुने व्यक्ति/समूहले प्रचलित कानूनको सामना गर्नु नै पर्ने हुन्छ।

प्रस्तुत सन्दर्भमा ठगी गर्ने गिरोहको प्रलोभनमा नफस्नुहुन र बैदेशिक रोजगारीमा जानको लागि नेपाल सरकारले व्यवस्था गरेको स्थापित र कानूनी बाटो मात्र प्रयोग गर्नुहुन यस राजदूतावास सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।

यस विषयमा कुनै जानकारी वा सहयोग चाहिएमा यस राजदूतावासमा फोन वा इमेल गर्न सकिने व्यहोरा पनि जानकारी गराइएको छ।

फोन नं.: ००९२ ५१२६१०३१७
ह्वाट्सयाप नं.: 0092512610321
इमेल: eonislamanad@mofa.gov.np

_________
नेपाली राजदूतावास
इस्लामाबाद
१८ बैशाख २०८१