तत्काल नेपाल जानुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई आफ्नो विवरण अद्यावधिक गर्नु हुन अत्यन्त जरुरी सूचना

विवरण उपलव्ध गराइदिनु हुन अनुरोध

कोभिड-19 विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी नेपाल सरकारको निर्णयानुसार बन्दाबन्दीको कारण नेपाल फर्कन नपाएका र तत्काल नेपाल फर्कन चाहेका  Pakistan, Iran, Turkey, Kyrgyz Republic, Turkmenistan, Tajikistan र Uzbekistan मा रहनुभएका नेपाली नागरिकहरुलाई प्राथमिकताको आधारमा नेपाल फर्कने व्यवस्था गर्न नेपाल फर्कन चाहनु हुनेहरु (यसअघि इमेल, रजिष्ट्रेशन फाराम, टेलिफोन/मोवाइल/WhatsApp message मार्फत नाम टिपाउनुभएका समेत) सबैले Registration Form to return to Nepal {https://pk.nepalembassy.gov.np/registration-form-to-return-to-nepal/} यथाशक्य छिटो भरी आफ्नो विवरण 2 जुन2020 सम्ममा राजदूतावासमा उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।

विवरण अद्यावधिक भएपश्चात् मात्र प्राथमिकता निर्धारण, सम्बन्धित मुलुकबाट नेपालसम्मको हवाई उडान तथा अन्य आवश्यक प्रबन्ध गर्न सहज र सहयोग पुग्ने हुँदा यथाशक्य छिटो ठीक विवरण उपलब्ध गराई सहयोग हुन अनुरोध गरिन्छ। साथै, नेपाल फर्कने सम्बन्धमा देहायका व्यवस्था रहेको व्यहोरा समेत जानकारीका लागि अनुरोध गरिन्छः

  1. नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रुपमा 14 (चौध) दिनसम्म स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टिनमा वा आफ्नै खर्चमा तोकिएको होटलमा क्वारेन्टिनमा बस्नु पर्नेछ।
  2. हवाई उडान खर्च र होटल क्वारेन्टिन खर्च लगायत सम्पूर्ण खर्च स्वदेश फर्कने व्यक्ति स्वयंले व्यहोर्नु पर्नेछ।
  3. हवाई उडानबाट स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नु अघि कोभिड-19 संक्रमण नभएको स्वास्थ्य परीक्षण (पि.सि.आर./आर.डि.टि./अन्य परीक्षण) प्रतिवेदनको प्रमाण साथमा राख्नु पर्नेछ।
  4. नेपाल जाने प्रत्येक व्यक्तिले तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ।
  5. नेपाल प्रवेश गरेपछि प्रत्येक व्यक्तिले आफ्नो मोवाइलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको “हाम्रो स्वास्थ्य” एप डाउनलोड गरी क्वारेन्टिनमा रहँदाको अवधिको नियमितरुपमा स्वास्थ्य विवरण अद्यावधिक गर्नु पर्नेछ।
  6. विदेशबाट जाने प्रत्येक यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य स्वघोषणा फाराम भर्नु पर्नेछ र ज्वरो मापन गरिनेछ।100.40 भन्दा वढी ज्वरो आएकालाई आइसोलेसन कक्षमा र अन्यलाई होल्डिङ सेन्टरमा लगिनेछ।
  7. प्रत्येक यात्रुलाई काठमाडौंमा रहेका होल्डिङ सेन्टरमा लगि आवश्यक प्रक्रिया पूरा भएपछि होटल क्वारेन्टिनमा बस्न स्वघोषणा गरेकाहरुलाई होटल क्वारेन्टिन जान र स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिनमा जान स्वघोषणा गरेकाहरुलाई सोही बमोजिम सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनस्थलमा जाने व्यवस्था गरिनेछ।
  8. हवाईसेवा, उडान तालिका, हवाई उडान खर्च, होटल क्वारेन्टिन खर्च लगायतका विवरण पछि जानकारी हुने व्यहोरा अनुरोध छ।

मिति 2077/2/17