विवरण उपलव्ध गराइदिनु हुन अनुरोध
कोभिड-19 विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी नेपाल सरकारको निर्णयानुसार बन्दाबन्दीको कारण नेपाल फर्कन नपाएका र तत्काल नेपाल फर्कन चाहेका Pakistan, Iran, Turkey, Kyrgyz Republic, Turkmenistan, Tajikistan र Uzbekistan मा रहनुभएका नेपाली नागरिकहरुलाई प्राथमिकताको आधारमा नेपाल फर्कने व्यवस्था गर्न नेपाल फर्कन चाहनु हुनेहरु (यसअघि इमेल, रजिष्ट्रेशन फाराम, टेलिफोन/मोवाइल/WhatsApp message मार्फत नाम टिपाउनुभएका समेत) सबैले Registration Form to return to Nepal {https://pk.nepalembassy.gov.np/registration-form-to-return-to-nepal/} यथाशक्य छिटो भरी आफ्नो विवरण 2 जुन2020 सम्ममा राजदूतावासमा उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
विवरण अद्यावधिक भएपश्चात् मात्र प्राथमिकता निर्धारण, सम्बन्धित मुलुकबाट नेपालसम्मको हवाई उडान तथा अन्य आवश्यक प्रबन्ध गर्न सहज र सहयोग पुग्ने हुँदा यथाशक्य छिटो ठीक विवरण उपलब्ध गराई सहयोग हुन अनुरोध गरिन्छ। साथै, नेपाल फर्कने सम्बन्धमा देहायका व्यवस्था रहेको व्यहोरा समेत जानकारीका लागि अनुरोध गरिन्छः
- नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रुपमा 14 (चौध) दिनसम्म स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टिनमा वा आफ्नै खर्चमा तोकिएको होटलमा क्वारेन्टिनमा बस्नु पर्नेछ।
- हवाई उडान खर्च र होटल क्वारेन्टिन खर्च लगायत सम्पूर्ण खर्च स्वदेश फर्कने व्यक्ति स्वयंले व्यहोर्नु पर्नेछ।
- हवाई उडानबाट स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नु अघि कोभिड-19 संक्रमण नभएको स्वास्थ्य परीक्षण (पि.सि.आर./आर.डि.टि./अन्य परीक्षण) प्रतिवेदनको प्रमाण साथमा राख्नु पर्नेछ।
- नेपाल जाने प्रत्येक व्यक्तिले तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ।
- नेपाल प्रवेश गरेपछि प्रत्येक व्यक्तिले आफ्नो मोवाइलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको “हाम्रो स्वास्थ्य” एप डाउनलोड गरी क्वारेन्टिनमा रहँदाको अवधिको नियमितरुपमा स्वास्थ्य विवरण अद्यावधिक गर्नु पर्नेछ।
- विदेशबाट जाने प्रत्येक यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य स्वघोषणा फाराम भर्नु पर्नेछ र ज्वरो मापन गरिनेछ।100.40 भन्दा वढी ज्वरो आएकालाई आइसोलेसन कक्षमा र अन्यलाई होल्डिङ सेन्टरमा लगिनेछ।
- प्रत्येक यात्रुलाई काठमाडौंमा रहेका होल्डिङ सेन्टरमा लगि आवश्यक प्रक्रिया पूरा भएपछि होटल क्वारेन्टिनमा बस्न स्वघोषणा गरेकाहरुलाई होटल क्वारेन्टिन जान र स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिनमा जान स्वघोषणा गरेकाहरुलाई सोही बमोजिम सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनस्थलमा जाने व्यवस्था गरिनेछ।
- हवाईसेवा, उडान तालिका, हवाई उडान खर्च, होटल क्वारेन्टिन खर्च लगायतका विवरण पछि जानकारी हुने व्यहोरा अनुरोध छ।
मिति 2077/2/17