प्रेश विज्ञप्ति: राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा नेपाली राजदूतावासमा आज एक कार्यक्रमको  आयोजना गरियो।

कार्यक्रमको प्रारम्भमा नेपालको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रिय गानको सामूहिक गायन र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा वीरगति प्राप्त गर्नुहुने ज्ञात/अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो।

तत्पश्चात् सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो।

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले अमर सहिदहरुको त्याग र बलिदानबाट नेपालमा नागरिक हक, अधिकार र युगिन चेतनाको आरम्भ भएको एवं सहिदहरूको सपना साकार पार्न सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनभयो। उक्त अवसरमा देश र विदेशमा रहेका सबै नेपालीले प्रजातन्त्रको मर्मलाई आत्मसात गर्दै प्रजातन्त्र प्राप्ति पश्चात देशमा भएको सामाजिक र आर्थिक परिवर्तनले देशलाई विकास र समृद्धिको दिशामा अगाडि बढाएको तथ्य प्रस्तुत गर्नुभयो। कार्यक्रममा स्थानीय नेपाली समुदायको तर्फबाट डा. ठाकुरप्रसाद तिवारी, लतिका मास्के र रञ्जना पण्डितले समेत प्रजातन्त्र दिवसको महत्वको बारेमा आ-आफ्नो भनाई राख्नुभएको थियो।

उक्त कार्यक्रममा इस्लामावादस्थित विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपालीहरु, नेपाली विद्यार्थीहरु एवम् नेपाल सरकारका कर्मचारी/सैनिकहरू र राजदूतावास परिवारको उल्लेख्य उपस्थिति रहेको थियो। औपचारिक कार्यक्रमको समापन पश्चात् सहभागीहरुलाई जलपानको व्यवस्था समेत गरिएको थियो।

प्रजातन्त्र दिवसको अवसरमा हिजो साँझ राजदूतावासमा दीपावली गरिएको र आज र भोली साँझमा समेत दीपावली गर्ने कार्यक्रम रहेको छ।

____________
२०७९ फागुन ७